डेढ वर्ष तयारी गरेर पार्टीत्याग गरेको हुँ: भट्टराई

आश्विन १६, २०७२- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले डेढ वर्षको तयारीपछि पार्टीत्याग गरेको बताएका छन् । उनले नयाँ शक्ति निर्माण गर्ने अभियान सुरु गरेको उल्लेख गरे ।

पार्टीत्याग गरेको एकसातापछि गृहजिल्ला आएका भट्टराईले गोरखा सदरमुकाममा भएको अन्तर्क्रियामा पुन: एमाओवादीमा फर्कने सम्भावना नरहेको बताए । पार्टी र सांसद पदबाट गरिएको राजीनामा स्वीकृत गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सभामुख सुवासचन्द्र नेम्वाङले नमानेको उनले बताए ।

‘उहाँहरुले एक पटक भेटेर छलफल नगरी राजीनामा स्वीकृत हुन्न भन्नु भएको छ,’ उनले भने, ‘प्रचण्डले त घुर्काएको हो कि भन्दै भेटघाट गर्ने कुरा गर्नु भएको छ ।’

भट्टराईले आफू नयाँ शक्ति बनाउने अभियानमा लागेको जानकारी दिए । ‘माओवादीहरु, कांग्रेस, एमाले र स्वतन्त्र व्यक्तिहरु मिलाएर नयाँ पार्टी बनाउँछु,’ उनले भने । नयाँ बन्ने पार्टीको आफैंले नेतृत्व गर्ने सम्भावना नरहेको उनले जानकारी दिए । ‘मैले पार्टी फुटाउन भन्दा पनि नयाँ शक्ति बनाउन खोजेको हो,’ उनले भने, ‘साइनबोर्ड झुण्डाउन मात्रै मलाई पार्टी खोल्नु छैन ।’

चुनौतिपूर्ण अवस्थामा संविधान निर्माण

भट्टराईले प्रधानमन्त्री हुँदा भन्दा बढी चुनौति र कठिनाई भोगेर संविधान निर्माण गरेको बताए । कार्यक्रममा बोल्दै पत्नी र छोरीका साथ आएका उनले भने ‘संवैधानिक राजनीतिक तथा संवाद समितिको सभापति भएर दलहरुलाई सहमति गराउन फलामको चिउरा चपाउनु पर्‍यो ।’ प्रधानमन्त्री बन्दा भन्दा संवाद समितिको सभापति बन्न धेरै कठिनाई भोगेको उनले बताए ।

‘मेरो जीवनको सबै भन्दा चुनौतिपूर्ण समय त्यहि थियो’, उनले भने, ‘सभापति भएर ३१ वटा दलका नेताको टाउको मिलाएपछि संविधान बनेको हो ।’ आफ्नो डेढ घन्टा लामो भाषणमा भट्टराईले आफुले कसरी अनेकन चुनौती मोलेर संविधान लेखनको काम टुंग्याए भनेर प्रस्ट पार्न खर्चेका थिए । उनले भने, ‘जसरी सामाजिक सञ्जालमा मैले संविधान जलाए र यसको विरोध गरे भनिएको छ, त्यो हुँदै होइन । त्यस्तो आरोप तपाईंहरुले पक्कै पत्याउनुभएको छैन होला ।’

माओवादीभित्र पनि आफूले संविधान सभाको मुद्धा उठाएर स्थापित गरेको भट्टराईले दावी गरे । ‘संविधान बनेकोमा मलाई गर्व छ,’ उनले भने, ‘केहिले बाबुरामले संविधान स्वीकार गरेन, जलायो भनेर दुष्प्रचार गरे ।’

सत्ताको लागि पर्दा पछाडि लेनदेन भइरहेको भट्टराईले बताए । ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरुको विज्ञापन गरेर पर्दा पछाडि नाटक भएको छ’, उनले भने, ‘एक हप्ता पर्खेर हर्नुहोस्, पदका लागि चाकडी, दलाली र शक्ति केन्द्र धाउने काम कसरी हुन्छ ।’ पदका लागि राष्ट्रवादले विश्राम लिने उनले ठोकुवा गरे ।

भट्टराईले भने ‘पदका ललिपप देखाएपछि साइकल र टुकी राष्ट्रवादको कुरा गर्नेको स्वर मत्थर हुदैं गएको छ ।’ नक्कली राष्ट्रवादको कुरा गर्नेहरु ठग भएको उनको आरोप थियो । ‘मैले ठगहरुसँग विद्रोह गरेकै हो,’ उनले भने ।

भट्टराईले जसले देशको निम्ति काम गर्न खोज्यो त्यसलाई गद्दारको संज्ञा दिने गरिएको बताए । ‘देशको लागि काम गर्नेको टाउको काट्ने देश हो यो,’ उनले भने, ‘मरेपछि मात्रै महान रहेछ भनेर सम्झिने गरिन्छ ।’

संविधान निर्माण भएपछि नयाँ युगको सुरु भएको भट्टराईले बताए । ‘संविधान बनेपछि राजनीतिक भूकम्प गएको छ’, उनले भने, ‘मधेसी, थारुको आन्दोलन भूकम्प पछिका पराकम्पन हुन् ।’ संविधान घोषणा अघि नै आन्दोलनकारीका माग सम्बोधन गर्न नसक्दा समस्या आएको उनको भनाई थियो ।

भारतको हेपाहा नीति
देशमा यहि अशान्ति भएको बहानामा भारतले हस्तक्षेप गरेको भट्टराईले बताए । ‘नेताहरुले भारतले हेपाहा नीति लिंदै आएको हेक्का हर्न सकेनन्,’ उनले भने, ‘बेलामा बुद्धि आएर अहिले आएर रोइकराई गरेर हुन्छ ।’

संविधान बन्नु अघि नै मधेसीहरुको माग सम्बोधन भएको भए भारतले हस्तक्षेप गर्ने मौका नपाउने उनले बताए । ‘असमान सम्बन्ध लादेर भारतले हेप्ने र चेप्ने काम गर्दै आएको छ’, उनले भने, ‘परनिर्भरता हटाउन सकेमात्रै राष्ट्रिय स्वाधिनता हुन्छ ।’ घरभित्रको झगडा मिलाउन नसकेर देश अस्तव्यस्त बनाएको उनको आरोप थियो ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment