खुल्यो तातोपानी नाका, 'चीनबाट तत्काल आपूर्ति

सिन्धुपाल्चोक- वार्षिक २० अर्बको आयात र साढे २ अर्बको निर्यात गर्दै राज्यलाई ५ अर्ब रुपैयाँ राजस्व दिलाउने उत्तरको एक मात्र ठूलो तातोपानी नाका शुक्रबारबाट तिब्बतसँग जोडिएको छ। वैशाख १२ को भूकम्प, शक्तिशाली अनुकम्पन र बर्खाको बाढीपहिरोका कारण पाँच महिनादेखि अवरुद्ध अरनिको राजमार्ग चीन नाकासँग शुक्रबार साँझबाट सडक ट्र्याकले जोडिएको हो।
पाँच दिन समय दिएर फुटाल्न थालिएको लिपिङबजारको चट्टाने पहिरो बीचबाटै ट्र्याक खोलेर तीन दिनमै नेपाल–चीन छुट्ट्याउने मितेरीपुलमार्फत जोडिएको छ। साँझ ६ बजे सडक ट्र्याकले नाका जोडिएसँगै काठमाडौंबाट गएका साना सवारी साधन मितेरी पुलमै पुगेका छन्। राजमार्ग खुलाउने सडक डिभिजन कार्यालय र सवारी कर्मचारीलाई मितेरी पुलमा तैनाथ चिनियाँ सुरक्षा अधिकारीले बधाइ दिँदै भव्य स्वागत गरेका छन्।

'राजमार्गले नाका जोड्ने कार्यभार पूरा गर्यौंि,' राजमार्ग खुलाउने कामको नेतृत्व गरेको डिभिजन कार्यालय दोलखाका इन्जिनियर रामबहादुर गुरुङले मितेरीपुलबाट टेलिफोनमा नागरिकसँग भने। भूकम्पपछि पाँचौंपटक राजमार्गले नाका जोडिएको हो। यसअघि डिभिजन कार्यालय, स्थानीय व्यवसायी र नेपाली सेनाको प्रयासमा चार पटक राजमार्ग खोलिएपनि बर्खाको बाढीले उस्तै बनाएको थियो। बर्खा थामिँदै गर्दा व्यवसायीकै दबाबमा डिभिजनले आफ्नै स्रोतसाधन र उधारोमा पेट्रोलियम पदार्थ खरिद गरेर पाँचौंपटक भदौ १५ बाट राजमार्ग अवरोध हटाउन थालेको थियो।

जारी नयाँ संविधानलाई लिएर भारतले दक्षिणी नाकामा अघोषित नाकाबन्दी गरेपछि मात्र यो मुख्य नाका सरकारी चासोमा परेको हो। सरकारले चासो दिएको सात दिनमै राजमार्गले चीन जोेडेको हो। भारतीय नाकाको तनाबले आपूर्ति असहज भएपछि साताअघि मात्रै वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनियाँ अधिकारी भेटेर उत्तरी नाका खुलाउन सहयोग गर्न आग्रह गरेको थियो।

काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारी नाका खुलाउन सकारात्मक भएपछि नाका अवरोध हटाउन सरकारले तीव्रता दिएको थियो। 'केही ठाउँमा बाहेक राजमार्ग दुईतर्फी छ। कन्टेनर गुडाउन कुनै समस्या छैन,' इन्जिनियर गुरुङले भने। तीन सातादेखि राजमार्ग खुलाउन थाल ेपनि अघि बढ्दै गर्दा मितेरी पुलको २ सय मिटरवर घरभन्दा अग्लो चट्टाने पहिरो फेला परेपछि त्यो पन्छाउन चुनौती देखिएको थियो। सय मिटर चौडा र २० मिटर अग्लो पहिरो हटाउन स्थानीय प्रशासनले पाँच दिन समय दिएकोमा सडक डिभिजनले दुई दिनमै त्यहीँमाथिबाट ट्र्याक खोलेर नाका जोडिदियो। दक्षिणी नाका बन्द भएको र चाडबाडसमेत सुरु भएकाले तत्काललाई आपूर्ति सकेर बिस्तारै सडक स्तरोन्नति गर्न सकिने इन्जिनियर गुरुङले बताए। 'सडक साबिक बमोजिम नै फराकिलो बनाएका छौं। तीन ठाउँमा मात्र एकोहोरो साधन हिँडाउनुपर्छ,' उनले भने, 'शनिबारबाटै थप फराकिलो र सडक व्यवस्थित बनाउने काम सुरु हुन्छ।'

दक्षिणी नाकामा भएको अघोषित नाकाबन्दीपछि सातादेखि मात्र तातोपानी सरकारको चासोभित्र परेको थियो। सय मिटर चट्टाने पहिरो हटाउन तीन दिनमा अत्याधुनिक नौ उपकरण प्रयोग गरियो। त्यो चट्टाने पहिरो नपन्छाई तत्कालका लागि त्यहीमाथिबाट ट्र्याक खोलिएको हो। तत्कालीन आवश्यकता पूरा भएपछि बिस्तारै हिँउदमा चट्टान पन्छाउन सकिने सडक अधिकारी बताउँछन्।

राजधानी काठमाडौंसम्मको आपूर्तिका लागि चीनदेखि यो नाका सबैभन्दा सजिलो र छोटो दुरीको हो। आगामी असोज २४ देखि अर्को महत्वपूर्ण नाका रसुवागढी सञ्चालनमा आउँदैछ। छोटो दुरीका कारण यो नाका सरकारको प्राथमिकतामा छ। तर यो नाका तत्काल सञ्चालनमा ल्याउन विस्थापित खासा बजार पुनःस्थापित गर्नु जरुरी छ।

भूकम्पपछि खासाबजार खाली गरेर त्यहाँबाट ४ सय ९१ किमी टाढा सिगात्से लगिएको छ। भन्सार, अध्यागमन, सुरक्षा निकाय, स्थानीय व्यापारी सबै उतै छन्। दोस्रोपटक बुधबार नेपालका लागि चिनियाँ राजदूत भेट्दै वाणिज्य सचिव ङइन्द्र उपाध्यायले खासाको सबै निकाय फर्काउन अनुरोध गरेका थिए। 'त्यसका लागि केन्द्रीय सरकारलाई भनिरहेको छु। केन्द्रको आदेशपछि सबै निकाय खासा फर्कन्छन्,' राजदूतको भनाइ उद्धृत गर्दै उपाध्यायले भने। उनका अनुसार पहिलो प्राथमिकतामा रहेका तातोपानी नाका खुलाउन सबै कूटनीतिक प्रयास जारी छ।

खासा सडक ट्र्याकले जोडिएकाले भूकम्पअघिदेखि त्यहाँ रोकिएका सामान आयात गर्न व्यवसायीले प्रयत्न थाल्ने भएका छन्। भूकम्पका कारण चैतमा ल्याइएका ५ सय कन्टेनर सामग्री खासास्थित गोदाममै रोकिएका छन्। 'ती सामान तत्कालै ल्याउन सकिने देखियो। अब प्रक्रिया थालिहाल्छौं,' तातोपानीका आयातकर्ता नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठले भने।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment