झुक्यायो भारतले , नाकबन्दी भन्दा ठुलो पिडा

काठमाडौं- इन्डियन आयल कर्पोरेसन (आइओसी) का उच्च पदाधिकारीले शनिबार राति पौने ११ बजे नेपाल आयल निगमका उच्च पदस्थ कर्मचारीलाई फोन गरेर भने, 'ट्यांकर पठाउनुस्, मागअनुसार पेट्रोलियम पदार्थ दिन्छौं।'


नाकाबन्दीले मुलुकमा इन्धन संकट भइरहेका बेला आइओसीको 'ग्रिन सिग्नल' पाउनेबित्तिकै यताबाट रित्ता ट्यांकर ह्वारह्वार्ती सीमापारि गए। तर आठ घन्टा नबित्दै आइओसीको बोली फेरियो। 'माथिको निर्देशन' भन्दै आइओसीका डिपोले पेट्रोलियम पदार्थ लोड गर्नै मानेनन्।

'आइओसीका पदाधिकारीले आइतबार भारतीय डिपो बन्द हुने भए पनि खोलेर सिलिगुडी, इलाहाबाद र रक्सौलबाट पर्याप्त तेल दिन्छांै भनेका थिए,' निगमका प्रवक्ता दीपक बरालले नागरिकसँग भने, 'त्यहीअनुसार हामीले नेपालबाट ट्यांकर पठायौं। तर आइतबार बिहान ८ बजे आइओसीले ट्यांकरमा लोड गर्न नदिएको जानकारी आयो।'

बरालका अनुसार त्यसपछि बु‰दा माथिको निर्देशनअनुसार नदिएको आइओसीले जानकारी गरायो। 'पुरानै तरिका अपनाउनू भन्ने माथिको निर्देशन आएकाले हामी तेल दिन असमर्थ छौं भन्ने खबर आयो,' उनले भने।

आइओसीले तेल दिने भनेर फोन गरेपछि निगमले रक्सौल नाकामा ६६, सिलिगुडीबाट ४० र इलाहाबादबाट ५ वटा ट्यांकरलाई तेल लोड गर्न पठाएको थियो। तर आइओसीले दिने भनेको डिपोमा आइतबार एउटा पनि ट्यांकर लोड भएको छैन। 'हामी कर्मचारी हौं, सरकारले जे भन्छ त्यही मान्नै पर्योट,' आइओसीको भनाइ उद्धृत गर्दै निगम स्रोतले भन्यो, 'सरकारको निर्णयविरुद्ध जान सकिँदैन।'

निगमका अनुसार भारतीय भूमिमा पेट्रोल र डिजेल लोड भएर अड्किएका ट्यांकरको संख्या १ सय ४४ छ। त्यस्तै, २ सय ७६ वटा बुलेट ग्यास लोड भएर भारतीय भूमिमा रोकिएका छन्। आइओसीबाट शनिबार राति फोन आएपछि थप १ सय ५१ वटा ट्यांकर भारतीय डिपोमा पुगेका छन्।

आइओसीले शनिबार राति मागेजति पेट्रोलियम पदार्थ दिने भनेपछि सिलिगुडी डिपोमा ४० वटा ट्यांकर तेल भर्न गएका थिए। तर चार वटालाई मात्र तेल दिने जानकारी भारतीय पक्षले गरायो। मागअनुसार ट्यांकर पठाउन आग्रह गरेर १० प्रतिशत मात्रै तेल दिने भनेपछि निगमले लोड गर्न नमानेको स्रोतले जनाएको छ। 'दिने भए ४० वटै ट्यांकरलाई तेल देऊ, होइन भने १० प्रतिशत मात्रै हामी लोड गदैनांै भनेर आइओसीलाई जानकारी गराएका छौं,' स्रोतले भन्यो, 'त्यसपछि सबै ट्यांकर रोकिएका छन्।'

सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात हुने रक्सौल डिपोमा पुगेका ६३ ट्यांकरमध्ये १० वटाले मात्र तेल पाउने आइओसीले जानकारी दिएको छ। भारतले शनिबार नेपाली अधिकारीलाई रक्सौल बाहेकका नाकामा सहज आपूर्तिका लागि व्यवस्था मिलाउन तयार रहेको आश्वासन दिएको थियो। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका कारण रक्सौलमा तत्काल आपूर्ति सहज नहुने भारतको भनाइ थियो।

आयल निगमका प्रवक्ता बरालका अनुसार आइओसी र निगम अधिकारीबीच शनिबार भएको छलफलमा मागअनुसार तेल दिने प्रतिबद्धता आएको थियो। 'तर माथिको आदेश भन्दै एकदमै न्यून मात्रै तेल दिइरहेका छन्,' बरालले भने, 'आइओसीको व्यवहारबाट हामी विश्वस्त हुन सकेनांै। तेल आपूर्ति सहज हुने अवस्था अझै देखिँदैन।'

भारतले शनिबार आफ्ना सम्बन्धित सबै निकायलाई ढुवानी आवागमन सहज बनाउन निर्देशन दिएको समाचार आएको थियो। त्यसपछि पेट्रोलियम पदार्थसहित विभिन्न वस्तुको आपूर्ति सहज हुने अपेक्षा गरिएको थियो।

कतिपयले भने नेपालले चीनबाट तेल ल्याउने जनाउ दिएपछि भारतले नाका खोलेको नाटक गरेर नेपालीलाई रनभुल्लमा पारेको बताएका छन्।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment