भारतले नेपालमाथि नाकाबन्दी जारी राखेको छ,तेल अापूर्तिमा झन् कडाई

 


काठमाडौं— भारतीय विदेश मन्त्रालयले नेपालमाथिको नाकाबन्दी अन्त्य गर्दै ढुवानी सुचारु गर्न आफ्ना सीमा अधिकारीलाई निर्देशन दिएको चर्चा बाहिर आए पनि आइतबार नाकाबन्दी झन् कडा पारिएको छ।
नेपाल आपूर्ति हुने पेट्रोलियम पदार्थ कुनै नाकाबाट पनि छोडिएको छैन। छिटै कुहिने तरकारी, फलफूल तथा मार्बल बोकेका गाडीहरु भने छोडिएको छ।

विराटनगर स्थित नागरिकन्युजकर्मी अजित तिवारीका अनुसार आइतबार अपरान्हसम्म विराटनगर भन्सारबाट मालबाहक गाडी नेपाल प्रवेश गरेका छैनन्। दुवै देशका भन्सार प्रमुखबीच ढुवानी सुचारु गर्ने सैद्धान्तिक सहमति भने भएको छ।

झापा स्थित नागरिकन्युजकर्मी राजु अधिकारीका अनुसार अन्य सामान बोकेका गाडी पूर्वी नाका काँकडभिट्टाबाट भित्रए पनि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस आएको छैन। आइतबार दिउँसो ३ बजे सम्ममा ३० वटा मालबाहक साधन पानीट्यांकी हुँदै काँकडभिट्टा भित्रेका छन्। 'शनिबार रातिसम्ममा ६९ वटा र आइतबार ३० वटा मालबाहक गाडी नेपाल भित्रेका छन्', मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले नागरिकन्युजसँग भने 'अहिलेसम्म खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थ बोकेका गाडी आएका छैनन्।'

पानीट्यांकी नाकामा ग्याँस बोकेका ३ वटा बुलेट नेपाल आउने लाइनमा बसेको हप्ता दिन पूरा भएको छ। भारतीय पक्षको अवरोधले आउन पाएका छैनन्। पेट्रोलियम पदार्थ ल्याउन भनेर गएका कम्तिमा ३५ वटा ट्यांकर सिलिगुढीमै तेल भर्न पालो कुरेर बसेका छन्। ४ वटाभन्दा बढी ट्याङ्करलाई तेल नदिने इन्डियन अायल कर्पोरेशन (अाइओसी) ले बताएको ट्याङ्कर व्यवसायीले जनाएका छन्। मेची भन्सार प्रमुख अधिकारीका अनुसार शनिबार र आइतबार गरी दुई दिनमा फलफूल, आलु, क्लिंकर, जुट लगायतका सामान नेपाल भित्रेका छन्। भारतीय सीमावर्ती नाका पानीट्यांकीमा रोकिएका सयौं मालबाहक गाडीमा तेल बोकेका गाडी एउटै छैनन्। बरु तेल लिन भनेर गएका साधनलाई पालोका नाममा सात दिनभन्दा लामो समयदेखि कु्राएर सास्ती दिने काम भइरहेको छ। भन्सार प्रमुख अधिकारीले साँझ सम्ममा ग्याँसका गाडी आउने सम्भावना भएको बताए। तेलका ट्यांकर आउन अझै समय लाग्न सक्ने उनको अनुमान छ।

वीरगञ्ज स्थित नागरिकन्युजकर्मी रितेश त्रिपाठीका अनुसार डेढ हप्तादेखि बन्द रहेको वीरगञ्ज नाका आइतबार पनि ठप्प छ। एउटा पनि मालबाहक गाडी नेपाल भित्रिएका छैनन्। वीरगञ्ज सबैभन्दा बढी पेट्रोलियम पदार्थ अापूर्ति गर्ने नाका हो। रक्सौल डिपोमा रहेका ट्याङ्करमध्ये दैनिक १० वटालाई मात्र तेल उपलब्ध गराउन सकिने जवाफ नेपाल अायल निगमलाई अाइओसीले गराएको छ। नाकामा मधेसी मोर्चाका कार्यकर्ताले धर्ना जारी राखेका छन्। भारतबाट नेपाल भित्रिनेमध्ये ७० प्रतिशत मालवस्तु यो नाका भएर नेपाल अाउँछन्।

बुटवल स्थित नागरिकन्युजकर्मी शेरबहादुर केसीका अनुसार भैरहवा नाकाबाट आइतबार ४० वटा मालबाहक गाडी नेपाल भित्रिएका छन्। मार्बल, तरकारी तथा फलबुल बोकेका गाडी नेपाल भित्रिएका हुन्। पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर एउटा पनि छोडिएको छैन।

नेपालगञ्ज स्थित नागरिकन्युजकर्मी अर्जुन ओलीका अनुसार भारतले अघोषित नाकाबन्दी खुलाउने प्रचार गरेपनि नेपालगन्ज नाकामा अवरोध यथावत अवरुद्ध छ। उक्त नाकाबाट आइतबार अपरान्हसम्म कुनैपनि पेट्रोलियम ट्यांकर भित्रिन पाएका छैनन्। इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरिक्षक विष्णु गिरीका अनुसार दिउँसो आलु, सिमेन्ट, मार्बल, क्लिंकर बोकेका १० वटा ट्रक मात्र भित्रिएका छन्।

भारतीय सिमा सुरक्षा बल(एसएसबी)ले अन्य दिनको झै पेट्रोलियम ट्यांकर प्रवेशमा कडाई गरिरहेको छ। 'भारतले नेपालगन्ज सहित केही नाकाको अवरोध खोल्ने कुरा सुनेका थियौं, तर हाम्रो यहाँ नाकाबन्दी यथावत नै राखेको छ,' उनले भने। अन्य दिनको तुलनामा आइतबार झन् कम माल बाहक सवारी साधन भित्रिएको प्रहरीले जनाएको छ । नाकाबन्दीका कारण एक साता अघिदेखि पेट्रोलियम ट्यांकर, माल बाहक ट्रक भारतीय बजार रुपैडिहामा रोकिएका छन्। भारतीय उच्च निकायले नेपालगन्ज नाका खुलाउने समाचार बाहिर आएपनि नाकाबन्दी यथावत रहेको स्थानीय अधिकारीले बताएका छन्।

तेल अापूर्तिमा झन् कडाई

भारतले तेल आपूर्ति आइतबार अझ कडा पारेको छ। अघिल्ला दिनहरुमा दैनिक १५-२० ट्याङ्कर छोड्दै अाएकोमा आइतबार अपरान्हसम्म एउटा ट्याङ्कर पनि छोडिएको छैन। शनिबार इन्डियन आयल कर्पोरेसनका अधिकारीसँगको छलफलमा तेल आपूर्ति सुचारु गर्ने संकेत भारतीय पक्षले गरेको थियो। आइतबार त्यस अनुसार व्यवहार नगरेको निगम अधिकारीहरुले बताएका छन्। निगमले तेल भर्न सिलगुढी पठाएका ३५ भन्दा बढी ट्याङ्करमध्ये ३ वटालाई मात्र आइओसी तेल दिएको छ। 'माथिको आदेश भनेर आइओसी अधिकारीले तेल आपूर्ति ठप्प पारे', निगम स्रोतले नागरिकन्युजसँग भन्यो, 'हिजो अस्तिको तुलनामा आइतबार आपूर्ति ठप्प पारिएको छ।'

निगम र आइओसीका अधिकारीबीच शनिबार छलफल हुँदा भारतीय पक्षले आइतबारदेखि आपूर्ति सहज बनाउने बताएको थियो। सोही अनुसार निगमले वेतालपुर, सिलगुढी, बरौनी, रक्सौल लगायतका डिपोमा तेल लिन ट्याङ्कर पठाएको थियो। अघिल्लो दिनको प्रतिबद्धता उल्लंघन गर्दै आइतबार भारतले पेट्रोलियम पदार्थको आपूर्ति अझ कडा पारेको हो।

अाफू अनुकूल संविधान नबनेको, काठमाडौं-निजगढ फास्ट ट्र्याक निर्माण लगायतका विषयमा असन्तुष्टि जनाउँदै डेढ हप्तादेखि भारतले नेपालमाथि नाकाबन्दी जारी राखेको छ। 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment