|
उपभोक्तालाई वैकल्पिक उपाय अपनाउन आग्रह
काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास सकिएको छ। ४० दिनदेखिको तराई बन्दले ग्यास आयातमा भइरहेको समस्या र पछिल्लो ५ दिनको नाकाबन्दीपछि उपत्यकामा ग्यास सकिएको हो। नेपाल आयल निगमले अहिले नेपालमा कत्ति पनि ग्यास नभएको जनाएको छ। २ सय बढी ग्यास बुलेटहरु सीमापारि नै भएको दिँदै निगमका प्रवक्ता दिपक बरालले नेपालमा ग्यास सकिएको उल्लेख गरे।
उपभोक्तालाई भएको ग्यास सदुपयोग गर्दै वैकल्पिक उपायतिर लाग्न निगमले आग्रह गरेको छ। विजुली बत्तिको प्रयोगबाट राइस कुकर चलाउने, गुइँठाको प्रयोग गर्ने तथा सम्भव भएसम्म दाउराको पनि प्रयोग गर्न निगमले आग्रह गरेको छ।
निगमसित मात्रै होइन नेपाल ग्यास उद्योगीहरुसित पनि ग्यास कत्ति पनि छैन। ग्यास उद्योग व्यवसायी संघका उपाध्यक्ष कुशप्रसाद मल्लीले सेतोपाटीसित कुराकानी गर्दै उद्योगीहरुसित ग्यास शून्य रहेको जानकारी दिएका छन्। ‘४० दिनदेखि नै ग्यास आयात कम भइरहेको थियो, त्यसमाथि नाका बन्द भएपछि ठप्प भयो, अहिले हामीसित ग्यास कत्ति पनि छैन’ उनले भने।
भूकम्पपछि उद्योगीहरुसित प्रयाप्त मात्रामा ग्यास स्टक रहन नसकेको जानकारी दिँदै उनले अहिले सबैजसो उद्योगीहरु रित्तै रहेको बताए।
ग्यास विक्रेताहरुले पनि आफूहरुसित अहिले ग्यास सकिएको दावी गर्छन्। भूकम्प र चाडपर्वलाई लक्षित गर्दै कतिपय उपभोक्ताले धेरै स्टक राख्नु र ग्यास आउन नसक्दा ग्यास रित्तिएको विक्रेताहरुको भनाई छ। ग्यास विक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले अधिकांश विक्रेताहरुसित ग्यास नभएको दावी गरे। ‘विक्रेताहरुले ग्यास नभएरै नदिएको हो, यदि कसैले ग्यास भएर पनि उपभोक्तालाई दिँदैन भने हामी पनि कारबाही गर्छौँ’ उनले प्रतिबद्धता जनाए। अहिलेको अवस्थामा कुनै पनि विक्रेताले उपभोक्तालाई कुनै पनि वहानामा ठग्न नहुनेमा उनले जोड दिए।
यसैबीच उपत्यकामा ग्यासको चरम अभाव हुने संकेत देखिएपछि सम्वन्धित विज्ञहरुले वैकल्पिक उपाय अपनाउन उपभोक्तालाई आग्रह गरेका छन्। दाउरा, विजुली बत्ति, गोबर ग्यास लगायत विकल्पहरु उपभोक्ताले अपनाउनुपर्नेमा उनीहरुको जोड छ। ग्यास उद्योग संघका उपाध्यक्ष मल्लीले वैकल्पिक उपायहरु अवलम्वन गर्नुको विकल्प नरहेको बताउँछन्।
|
0 comments:
Post a Comment