|
आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘पहाड र तराई–मधेशको बीचमा हजारौं वर्षदेखि असल सम्बन्ध रहिआएको छ तर शासक वर्गका केही मान्छेहरु यसलाई विगार्न लागेका छन्, यो सम्बन्ध विग्रन दिनुहुँदैन ।’
उहाँले भन्नुभयो – ‘तराई–मधेशको लडाईं शासक वर्गसँग हो, यो लडाईं पहाडी समुदायको विरुद्ध हुनु हुँदैन । सबै नेपाली एक हुनुपर्छ । नेपाली राष्ट्रिय अखण्डता कायम गर्नुपर्छ । अखण्ड नेपालभित्र नै स्वायत्त मधेश प्रदेश हुनुपर्छ । तपाईंहरुको यो मागमा मेरो पूर्ण समर्थन छ ।’
कुनै पार्टीको नेताको रुपमा भन्दा पनि सामान्य नागरिकको रुपमा आफू उपस्थित भएको र तराई–मधेशको आवाज सिंहदरबारमा बस्ने शासकवर्गलाई सुनाउनका लागि आफू जनकपुर आएको पनि उहाँले बताउनुभयो । ‘पहाडमा बस्ने कतिपय शासकवर्ग जो आफूलाई मात्रै नेपाली सम्झन्छन् उनीहरु मधेशमा हजारौं सालदेखि बस्ने भूमिपुत्र मधेशी/थारुहरुलाई नेपाली मान्दैनन् । समस्याको जड यही हो । मधेशी/थारुले आफ्नो पहिचान र सम्मान पाउनुपर्छ ।’
संवाद समितिको सभापति भएर पनि तराई–मधेश र थरुहटको माग सम्बोधन गर्न आफू असफल भएको उहाँले बताउनुभयो । आफूले निकै कोशिश गर्दा पनि असफल भएको उहाँको भनाई थियो । पहिलो संविधानसभाको राज्य पुन:संरचना समिति र अन्तरिम संविधानबमोजिम गठित आयोगको प्रतिवेदनमा मधेशमा दुई प्रदेश: नारायणीपूर्वमा मधेशी बाहुल्य मधेश प्रदेश र नारायणीपश्चिममा थारु र मधेशीको संयुक्त प्रदेश हुने विषयमा सहमति भएको तर केही व्यक्तिले यो कुरा नमान्दा अहिलेको समस्या आएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘अहिले पनि संविधान संशोधन गर्न सकिन्छ, संविधान संशोधन गरेर तराई–मधेश र थारु समुदायको माग सम्बोधन गर्नुपर्छ । यसका लागि म पूरै कोशिश गर्नेछु ।’ उहाँले आफू सधैं तराई–मधेश र थारुहरुको पक्षमा हुने पनि स्पष्ट गर्नुभयो ।
अहिले जारी भएको संविधान पूर्ण नभएकोले आफूले जबसम्म तराई–मधेश र थरुहटको माग पूरा हुँदैन तबसम्म दिपावली मनाउनु उपयुक्त नहुने बताएको पनि स्पष्ट पार्नुभयो । उत्पीडित समुदायहरुप्रतिको पार्टीको नीति कतिपय नेताहरुले छोडेका कारण र अरु केही कारणले आफू पार्टी र संसद्बाट राजीनामा दिएर उत्पीडितहरुको सामु आएको उहाँको स्पष्टोक्ति थियो ।
तराई–मधेश र थारुहरुको जायज मागलाई शासक वर्गले नसुनेकै कारण यसको नाजायज फाइदा उठाउँदै छिमेकी भारतले सीमामा अवरोध गर्ने काम गरेको र यसबाट सबै नेपालीहरुले कष्ट भोग्नुपरेको उहाँले बताउनुभयो । काठमाडौं र दिल्लीका शासक वर्गको बीचको लडाईंबाट सबै नेपालीहरुले पीडा खेप्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो आन्तरिक समस्या वार्ता र संवादद्वारा हामी आफैं शीघ्र समाधान गरौं ।’
‘म काठमाडौं पुगेर शासकवर्गसँग मधेशको समस्या वार्ताद्वारा समाधान खोज्न र सीमामा देखिएको समस्यालाई दिल्लीसँग कुटनीतिक तरिकाबाट वार्ता गरी समाधान गर्न भन्नेछु’, उहाँले भन्नुभयो – ‘हामीले भारत र चीन दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ । कुनै पनि छिमेकीसँग दुश्मनी साँधेर समस्याको समाधान हुँदैन ।’ अबको नयाँ समावेशी, समानुपातिक, संघीय नेपालका लागि कांग्रेस, एमाले, एमाओवादी जस्ता पुराना शक्तिहरुले नहुने भन्दै उहाँले अब सबै मिलेर नयाँ शक्तिको निर्माण गर्नुपर्ने पनि बताउनुभयो ।
डा. भट्टराईलाई जनकपुरस्थित गोपाल धर्मशालाको आमसभामा पुष्पवृष्टिसहित भव्य स्वागत गरिएको थियो भने विदाइका क्रममा हात हल्लाएर सहज वातावरणमै विदाइ गरिएको थियो । डा. भट्टराई त्यहाँबाट हिँडेपछि विमलेन्द्र निधी समर्थक लगायतका केही युवाले मञ्च तोडफोड गरेका हुन् । मधेशी आन्दोलनकारीहरुबाट मञ्च तोडफोड भएको होइन । डा. बाबुराम भट्टराईलाई जनकपुरबाट लखेटे भन्ने हल्ला सत्य होइन ।
|
0 comments:
Post a Comment