तेल ढुवानी असहज

काठमाडौं-भारतीय सुरक्षा चासोका कारण नेपालमा बुधबारदेखि पेट्रलोलियम पदार्थ आपूर्ति असहज बनेको छ। रक्सौलस्थित भन्सार कार्यालयले अनावश्यक कागजात मागेर ट्यांकर रोक्दा आपूर्ति असहज भएको हो।

आपूर्ति मन्त्रालयका उच्च अधिकारीले सोमबार र मंगलबार नियमित र सहज तरिकाले तेल आउन नसकेको नागरिकलाई बताए। 'यसअघि जसरी रक्सौलबाट सहजै पेट्रोलियम पदार्थ आपूर्ति हुन्थ्यो, अहिले त्यो अवस्था छैन,' मन्त्रालय स्रोतले भन्यो, 'भारतीय पक्षले तेल बोकेका ट्यांकरलाई हैरान पार्ने गरेको छ।'

यसअघि, रक्सौल भन्सारले 'टोकन' देखाउनेबित्तिकै तेल ट्यांकर छाड्ने गरेकोमा मंगलबार विभिन्न कागजपत्र मागेर हैरान पारेको मन्त्रालय स्रोतले ट्यांकर व्यवसायीलाई उद्धृत गर्दै बतायो। 'पहिला टोकन देखाउँदा नै ट्यांकर आउन दिन्थ्यो,' ट्यांकर व्यवसायी तीर्थराज चटौतले नागरिकसँग भने 'तर, मंगलबारबाट विभिन्न काजगपत्र मागेर दिक्क बनाएको छ।'

'नेपालस्थित भारतीय दूतावासकै निर्देशनमा' पेट्रोलियम ढुवानी 'असहज' बनेको मन्त्रालय स्रोतको दाबी छ। दूतावासले सोमबार भारतस्थित रक्सौल भन्सारमा फोन गरेर सहज रुपमा तेल नछाड्न निर्देशन दिएको स्रोतले बतायो।

दूतावासले भने यो आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै त्यस्तो निर्देशन नदिएको प्रस्ट पारेको छ। 'तेल आपूर्ति हाम्रो क्षेत्राधिकारमा पर्दैन,' दूतावासका एक अधिकारीले नागरिकसँग भने, 'बजारमा चलेका यी हल्ला मात्र हुन्।' ती अधिकारीले तेल आपूर्ति केन्द्र सरकारकै मातहत हुने गरेको जनाए।

नेपालबाट भारततर्फ गएका २३ वटा ट्यांकर नेपालस्थित भन्सार कार्यालयमा फिर्ता नआएपछि सोधपुछ गर्दा भारतीय भन्सारले सोमबार रोकेको पत्ता लागेको थियो। वीरगन्ज भन्सार कार्यालयले रक्सौल भन्सारका अधिकारीसँग ट्यांकर नछुटेको विषयमा सोधपुछ गर्दा काठमाडौं दूतावासले फोन गरेर तेलका ट्यांकर नछाड्न निर्देशन दिएपछि रोकेको उनीहरुले जानकारी दिएका थिए।

सोमबार वाणिज्य मन्त्रालय र नेपाल आयल निगमका पदाधिकारीले समेत ट्यांकर नछुटेको विषयमा सोधपुछ गर्दा भारतको रक्सौल भन्सारका पदाधिकारीले दूतावासको आग्रहमा रोकेको जानकारी दिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले तराईका जिल्लामा आन्दोलन चर्किएको र यस्तो बेला तेल सुरक्षितसँग लैजान सक्ने वातावरण बनाउन निगमलाई सोमबारै औपचारिक जानकारी गराएको थियो। निगमले पनि रक्सौल डिपोलाई सोमबारै सुरक्षाको उचित प्रबन्ध मिलाइएको जवाफ फर्काएको थियो।

'तराईमा ३५ दिनदेखि निरन्तर आन्दोलन भइरहेको छ तर सोमबार एक्कासि कसरी सुरक्षाको कुरा निस्किन्छ?' स्रोतले नागरिकसँग भन्यो, 'दूतावासले तेल नछाड्न निर्देशन दिएकाले बहाना बनाएर रोकिएको हो।'

ढुवानी व्यवसायीका अनुसार भारतीय अधिकारीले सम्पूर्ण कागजपत्र नभए ट्यांकर भारत नल्याउन निर्देशन दिएका छन्।

ट्यांकर छुटे

मंगलबार आयल निगमका पदाधिकारी र मन्त्रालयका उच्च अधिकारीले पहल गरेपछि सोमबारबाट रोकिएका २३ वटा ट्यांकर साँझ ५ बजे छुटेका छन्। 'पहिलेको जसरी तेल ल्याउन अब सकिन्न,' नाम नबताउने सर्तमा मन्त्रालयका एक उच्च अधिकारीले भने, 'अहिले रक्सौल भन्सारबाट सय वटा ट्यांकर छुटाउन एक दिनभन्दा बढी लाग्छ जुन यसअघि १५ मिनेटमै सकिन्थ्यो।'
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment